माडीमा गठबन्धनलाई विजयी गराउने नेता तथा कार्यकर्ताद्वारा प्रतिवद्धता

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १८ : ५७
माडीमा गठबन्धनलाई विजयी गराउने नेता तथा कार्यकर्ताद्वारा प्रतिवद्धता

चितवन। माडी क्षेत्रका जनताले गठबन्धनलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। एकअर्कालाई पूर्ण विश्वास गर्दै गठबन्धनमाथि प्रतिफल प्राप्त हुने उनीहरूले बताएका हुन्। निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस माडीका सभापति कमल भुसालले गठबन्धनका उमेदवार नै कांग्रेसको उमेदवार भएकोले कुनै भ्रममा नलाग्न सम्पूर्णमा आग्रह गरे। अहिलेको आवश्यकताले गठबन्धन निर्माण भएको कुरा जनतालाई बुझाईने उनले बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी नेतृ एवं भरतपुर महानगरका मेयर रेनु दाहालले सबैको सम्मान हुने गरी गठबन्धन अघि बढेको बताइन्। उनले गठबन्धनको व्यवहारिकता र मर्मलाई बुझिदिन उनले आग्रह गरिन्। सबैको साझा, योग्य, दक्ष, ईमान्दार र युवा उमेदवार डा. भोजराज प्रस्तुत गरिएकाले निर्वाचित गरिदिन जनतासँग मेयर दाहालले आग्रह गरिन्।

अब निर्वाचित हुने जनप्रतिनिधिले नै माडीको थप विकासका लागि पहल गर्ने उनको विश्वास छ। यस्तै, नेकपा एकिकृत समाजवादीका नेता नारादमणि पौडेलले डा. भोजराजको विजय निश्चित रहेको बताए। उनले गठबन्धनका विरूद्व कुनै प्रतिस्पर्धी नै नरहेको बताए। युवा डा. भोजराज र परिपक्व ठाकुर ढकाल विजयको घोषणा गर्न मात्रै बाँकी रहेको उनले बताए ।

यस्तै नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जनताको बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षाका लागि गठबन्धन अघि बढेको बताए। सो कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमन विरूद्वको लडाइँमा एकताबद्ध हुन आग्रह गरे। अहिलेको निर्वाचन लोकतान्त्रिक बाम गठबन्धनको परीक्षा भएको उल्लेख गर्दै उनले आफ्ना उमेदवारलाई विजय गराएर उत्तीर्ण गराईदिन अपिल गरे। चितवन निर्वाचन क्षेत्र नम्बर-३ (ख) अन्तर्गत गठबन्धनको प्रदेश कार्यालय माडीको बसन्तपुरमा उद्घाटन भएको छ। माडी नगरपालिका भुगोल समेटिने गरी कार्यालय सञ्चालनमा आएको हो।

यसअघि पटिहानीमा ३ (ख) कै सचिवालय रहेको छ। शनिबार नै माडी नगरपालिका अन्तर्गत विभिन्न वडामा गठबन्धनको सचिवालय उद्घाटन भएका छन्। लोकतान्त्रिक-वाम गठबन्धनबाट प्रतिनिधिसभा चितवन-३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी र ३ (ख) प्रदेशमा ठाकुर ढकाल चुनावी मैदानमा छन्।

प्रतिक्रिया दिनुहोस