जोशी शिक्षा र ज्ञानको स्रोत : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ११ कार्तिक २०७९, १८ : ५०
जोशी शिक्षा र ज्ञानको स्रोत : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याउनु भएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने उल्लेख गरे।

स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए।

प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साँछीको रुपमा जोशी रहेको उनले नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।

जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै देउवाले सरकारले त्यसैकारण उहाँलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गरे।

प्रधानमन्त्री देउवाले भने, ‘स्वर्गीय जोशी भाषा, साहित्य, संस्कृतिलाई माया गर्ने मुलुकको निधि हुनुहुन्थ्यो । देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा मैले उहाँलाई चिनेको छु । जोशीजीलाई अत्यन्तै सरल जीवन, उच्च विचारको मान्छेको रुपमा मैले पाएको छु । उहाँमा तडकभड्क र घमण्ड कति पनि थिएन । लोकसंस्कृतिलाई उपेक्षा गरेर राष्ट्रको सम्मान हुन सक्दैन भन्ने मान्यता उहाँको थियो । लोक संस्कृतिनै विभिन्न जातजाति, भाषा, संस्कृतिबीच एकता ल्याउने उहाँको अभियान थियो । संस्कृतिमात्रै होइन् भाषा, विकासबाट कला, साहित्य, सभ्यता र ज्ञान, विज्ञानको क्षेत्रमा पनि जोशीजीले खेल्नु भएका भूमिका महत्वपूर्ण छ।’

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै जोशीले राखेको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

उहाँले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए।मन्त्री श्रेष्ठले भने, ‘यो नेपाल संवतलाई कसरी व्यवहारमा प्रयोगमा ल्याउने भन्ने कुरा एउटा आम चासोका विषय पनि बनिरहेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि यो गर्नुपर्ने काम हो तर यसलाई कसरी बैज्ञानिक बनाउने भन्ने विषयमा चासो राख्नु भएको छ । प्रक्रिया अघि बढाएर यो काम गर्नुस भन्नु भएको छ । यसलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरे।

प्रतिक्रिया दिनुहोस