गठबन्धन खास उद्धेश्य प्राप्तिका लागि गरिएको हो : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, २० : २१
गठबन्धन खास उद्धेश्य प्राप्तिका लागि गरिएको हो : प्रचण्ड

जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् । शनिवार जनकपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे । उनले बृहत शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे । 

प्रचण्डले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको उल्लेख गर्दै उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरूलाई निर्देशन समेत दिए । ‘सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच कुनै समस्या छैन’, उनले भने, ‘हामी यो देखाउन चाहन्छौँ कि गठबन्धनका हामी नेताहरू एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन ।’

नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र व्यक्तिको हातबाट नेतृत्व खोस्न पाँच दलीय गठबन्धन बनेको बताए । एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिनुहुँदै उनले मुलुकलाई संकटबाट जोगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने बताए । 

२००७ सालदेखि नै देश बचाउन कम्युनिष्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको प्रसंग उल्लेख गर्दै नेपालले भने, ‘गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो संकल्प हो ।’ राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस