राप्रपाले मात्रै समानुपातिकमा सांसद पद बेचेको छैन : अध्यक्ष लिङदेन

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, १९ : ५२
राप्रपाले मात्रै समानुपातिकमा सांसद पद बेचेको छैन : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे ।

तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष लिङदेनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जान आफ्नो पार्टी मात्रै सक्षम रहेको बताए ।

उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरुको पनि पालो आउने आश्वासन समेत दिए । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस