सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, १५ : २८
सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ : प्रधानमन्त्री देउवा

पोखरा। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला ।’

उनले थप भनेका छन्, ‘सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ ।’

यसका साथै उनले विगतका कुरा सम्झिएर काम नभएको उल्लेख गर्दै राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने हुनसक्ने बताए । उनले भनेका छन्, ‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो(आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन ।’

गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था रहेको बताउँदै उनले भनेका छन्, ‘गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन । राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् ।’

उनले थपे, ‘हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

त्यस्तै देउयवाले केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशनसमेत दिएका छन् । यसका साथै माधव नेपाल, पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाएको भन्दै धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस