प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त : भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, ११ : ५९
प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् । 

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए । उनले भने, ‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरूको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरूको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरू भए । त्यसैलाई यो प्रतिगमन विरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो ।’

‘अहिलेको निर्वाचनमा पनि यो गठबन्धन बनाउनुको अर्थ के हो भने २००७ सालदेखि लडेर ल्याएको लोकतन्त्रलाई कुनै पनि हालतमा, कुनै पनि बहानामा प्रतिगमनतिर हामी लैजान दिँदैनौँ । यसको हामी रक्षा गर्छौँ । त्यसैले यो अग्रगमनकारी मोर्चाले जित्नैपर्छ,’ उनले भने, ‘यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो ।

नेपालको राजधानी काठमाडौँ नेपालको राजनीतिको ५० औँ वर्षदेखि निर्णय गर्ने दिशा कता जान्छ, त्यो निर्णय काठमाडौँले गर्ने गरेको छ । हामीबाट पनि विगतमा केही कमजोरी भए ।  लोकतन्त्र भनेको सिक्दै जाने हो । हामीबाट पनि केही मानवीय कमजोरी भएकै हो । तर त्यसको बहानामा यसलाई उल्ट्याउने हर्कत सह्य हुन सक्दैन । देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरूमा निराशा छ, त्यसलाई हामीले सम्बोधन गर्नैपर्छ ।’

उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे । 

उनले भने, ‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरूले नेतृत्व गरेको जुन धार हो, त्योभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’

प्रतिक्रिया दिनुहोस