छुट्टाछुट्टौ सवारी दुर्घटनामा १० जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १२ : २९
छुट्टाछुट्टौ सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं  । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । बझाङको मष्टा गाउँपालिका–१ चिउरीमा चैनपुर देखी रनडातर्फ जाँदै गरेको सु.प.प्र.०४००१ च ०१११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । 

जिप अनियन्त्रीत भई बुधबार सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेहरूमा मष्टा गाउँपालिका–२  बस्ने १३ वर्षीय सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी कठायत,  बसन्ती धामी कठायतकी ७ महिनाकी छोरी दिक्षिका कठायत, ३८ वर्षीय वीरेन्द्र अधिकारी, कञ्चनपुर शुक्लाफाटा नगरपालिका–७ का ५० वर्षीय झरेन्द्र बोहरा र सोही गाउँपालिका–१ रनाडा बस्ने ५० वर्षीया सिन्की देवी भण्डारी रहेका छन् । 

दुर्घटनामा घाइते भएका जिप चालक सोही गाउँपालिका–१ लेकी बस्ने ३५ वर्षीय राजेश रोकाया सहित १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धादिङको धुनिवेशी नगरपालिका–४ जिवनपुरस्थित सडकमा प्रदेश नम्वर–३ –०१–००६ ख १५८१ नम्बरको आईचर ट्रक बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृतयु हुनेमा ट्रकमा सवार धादिङ जिल्ला धुनिवेशी नगरपालिका–४ जिवनपुर घर भएका ५० को रामचन्द्र पुडासैनी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य एक जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको  वाणगंगा नगरपालिका–८ चप्परगाउस्थित सडकमा ना.६ ख ७३५१ नम्बरको बसले लु.२० प ५४९४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही ओम सतिया गाउँपालिका–१ बस्ने ३२ वर्षीय  सुमन थारु छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार अन्य एक जनाको एडमन सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस