उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १५ : २०
उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो ।माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै निष्काशन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रदान गरिएको छ । 

‘मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवाको विरुद्धमा पार्टी कार्यकर्ताद्वारा बागी उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेद्वारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउँदै असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा त्यस्ता बागी उम्मेद्वार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिने भन्ने जानकारी गराइएकोमा उक्त समय अवधि २०७९ कार्तिक ४ गते सम्म कायम गरिएको छ’, माओवादीको विज्ञप्तिमा भनिएको छ । 
 उक्त समयभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गराई गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न मुख्यसचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।