पौडीमा आज ७ राष्ट्रिय कीर्तिमान, आर्मीलाई ६ स्वर्ण

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, २१ : २३
पौडीमा आज ७ राष्ट्रिय कीर्तिमान, आर्मीलाई ६ स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सोमबार त्रिभुवन आर्मी क्लबले सोमबार मात्र ६ स्वर्ण जितेको छ । पोखराको फिस्टेल एकेडेमीमा भएका ९ स्पर्धामा आर्मीले ६ स्वर्ण जितेको हो । 

सोमबार मात्र प्रतियोगितामा  ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमान बनाए । नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

यस स्पर्धामा एनआरएनएका आशिष सापकोटाले ४ मिनेट २२.४५ सेकेन्डको समय निकाल्दै रजत पदक जिते ।  नासिरले १ सय मिटर बटरफ्लाईमा समेत राष्ट्रिय कीर्तिमान बनाए  । उनले ५७.८६ सेकेन्डको समय निकाले । उनले अनुभव सुब्बाको नाममा रहेको ५९.७७ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

महिला १ सय मिटर बटरफ्लाईमा एनआरएनएकी एस्ली सापकोटा डंगोलले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारिन् । एस्लीले १ मिनेट ०७.७४ सेकेन्डमा दुरी पूरा गरिन् । एस्लीले गौरिका सिंहको नाममा रहेको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । आशिषले २ मिनेट २९.६० सेकेन्डको समय निकाले । उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् । प्रदेश १ का विकास कुमालले २ मिनेट ३०.७६ सेकेन्डसहित रजत जित्दा बागमतीका सेरेन सिंहले २ मिनेट ३६.७४ सेकेन्डसहित कास्य हात पारे ।

महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । डुवानाले २ मिनेट ४३.२३ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको २ मिनेट ४४.२८ को कीर्तिमान भंग गरेकी हुन् । पुरुष ५० मिटर ब्याक स्ट्रोकमा आर्मीका एलेक्स एलेक्जेन्डर शाह (एलेक्स)ले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । एलेक्सले २७.४६ सेकेन्डको समय निकाल्दै आफ्नै नामको २७.५४ को कीर्तिमान सुधार गरेका हुन् ।

महिला ५० मिटर ब्याक स्ट्रोकमा गौरिका सिंहले स्वर्ण पदक जितिन् । गौरिकाले ३०.८० सेकेन्डको समय निकालिन । पुरुष ४ सय मिटरमा फ्रीस्टाइल रिलेमा आर्मीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेको छ ।
अनुभव, नासिर, दिलिप थापा मगर र एलेक्स रहेको आर्मीले ३ मिनेट ४५.५१ सेकेन्डको समय निकाले । यसअघि पुलिसको नाममा ३ मिनेट ४६.८३ सेकेन्डको कीर्तिमान थियो । यस स्पर्धामा पुलिसले ३ मिनेट ४६.३७ सेकेन्डसहित रजत र एपीएफले ३ मिनेट ५३.२५ सेकेन्डसहित कास्य जितेको छ ।

महिला ८ सय मिटर फ्री स्टाइल रिलेमा डुवाना लामा, उपास्ति महर्जन र अनुसिया तन्डुकार सम्मलित आर्मीले २ मिनेट २७.७३ सेकेन्डको समय सहित स्वर्ण पदक जितेको छ । पुलिसले १० मिनेट ०१.३० सेकेन्डसहित रजत र बागमतीले १० मिनेट ०९.५७ सेकेन्डसहित कास्य पदक जितेको छ । तेस्रो दिन सकिँदा पौडीका २७ मध्ये १६ स्वर्ण पदकसहित आर्मी शीर्ष स्थानमा छ । आर्मीले ५ रजत र ६ कास्य पदक जितेको छ । एनआरएन ६ स्वर्ण, ६ रजतसहित दोस्रो स्थानमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस