शारीरिक सुगठनमा नेपाली सेना टिम च्याम्पियन

सफल खबर संवाददाता

सोमबार, ३१ असोज २०७९, २० : १६
शारीरिक सुगठनमा नेपाली सेना टिम च्याम्पियन

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी शारीरिक सुगठन प्रतियोगितामा नेपाली सेना ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जितेका हुन् । 

उनले एपिएफका राकेश श्रेष्ठलाई पछि पार्दै स्वर्णमा आफ्नो नाम लेखाएको हुन् । नेपाल पुलिसका रत्न सुन्दर नायकुसीले तृतीय स्थान प्राप्त गर्दै कास्य पाए । ८० केजीमाथिको तौल समूहमा नेपाली सेना, लुम्बिनी र एपिएफले स्वर्ण रजत र कास्य जिते । सेनाका उमेश राईले स्वर्ण जिते । धर्मश्री बिजेता उनी मालदिप्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपका पनि समूह विजेता हुन् । 

लुम्बिनीका बिष्णु निशाद र एपिएफका आदित्य ठाकुर दोस्रो र तेस्रो भएका हुन् । स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशले स्वर्ण जित्यो । गण्डकीका प्रदीप रेग्मीले नेपाल पुलिसका सुकदेव कार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । यस्तै एपिएफका किरण सुवालले रजत जिते । १७० सेमीमाथिको विधामा प्रदेश १ ले बाजी मा¥यो । औतार श्रेष्ठले प्रदेश १ का लागि स्वर्ण जितेका हुन् । एपिएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डङ्गोलले कास्य पाए ।

महिला मोडल फिजिक तर्फ नेपाली सेनाकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कास्य जिते । महिला शारीरिक सुगठनमा एपिएफकी पुजा श्रेष्ठले बाजी मारिन् । उनले सेनाकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् । प्रदेश १ की रजनी श्रेष्ठले कांस्य जितिन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस