नवौं राष्ट्रिय खेलकुदमा गौरिकालाई पहिलो स्वर्ण

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १९ : ३५
नवौं राष्ट्रिय खेलकुदमा गौरिकालाई पहिलो स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जितेकी छिन् । अस्वस्थताका कारण ४ वटा इभेन्ट छाडेकी गौरिकाले आइतबार १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । जारी पौडीमा उनले पूरा गरेको यो पहिलो इभेन्ट हो ।

पोखरास्थित फिस्टेल एकेडेमीको पौडी कोर्समा गौरिकाले १ मिनेट ५.५ सेकेन्डको समय निकाल्दै १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । यसमा ४ वटा स्वर्ण पदक जितिसकेकी एनआरएनएकी एस्ली सापकोटा डंगोलले रजत र आर्मीकी अनुषिया तन्डुकारले कास्य पदक जितेकी छिन् । एस्लीको समय १ मिनेट ८.७९ सेकेन्ड र अनुषियाको १ मिनेट १३.८ सेकेन्ड रहेको छ ।

गौरिका सम्मलित आर्मीको टोलीले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ । गौरिका, डुवाना लामा, अनुषिया तन्डुकार र उपास्ती महर्जनको समूहले ४ मिनेट १९.४५ सेकेन्डको समय निकालेको थियो । तिसा महर्जन, श्रेनु महर्जन, जारिया महर्जन र रोशा न्यौपाने रहेको बागमतीले रजत तथा मेगन गुरुङ, समिरा शोभा थापा मगर, आर्या महर्जन र अदिप्सा वैद्य रहेको नेपाल पुलिस क्लबले कास्य पदक जित्यो ।

आइतबार गौरिकाले ८ सय मिटर फ्रि स्टाइल तथा २ सय फ्रिस्टाइल छाडेकी थिइन् । पेट दुखेर वान्ता भएपछि शनिबार १ मिटर फ्रि स्टाइलको फाइनल राउन्ड र २ सय मिटर ब्याक स्ट्रोकबाट उनले नाम फिर्ता लिएकी थिइन् । १ सय मिटर फ्रि स्टाइल र २ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएर गौरिकाले फाइनल राउन्ड छाडेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबबाट सहभागी भइरहेकी गौरिकाको ५० ब्याक स्ट्रोक, ४ गुणा २ सय ब्याकस्ट्रोक, ४ मिटर फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिक्स्ड फ्रि स्टाइल खेल्न बाँकी छ । गौरिकाले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा कीर्तिमान ४ स्वर्ण , २ रजत र ३ कास्यसहित ९ पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस