नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, २० : ५२
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा

काठमाडौं । शुक्रबारबाट पोखरामा औपचारिक रुपमा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बताएका छन् । सदस्य सचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबारै पोखरा आइसकेको उनले जानकारी दिए । सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी दिए । राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि बताए ।

सदस्यसचिव घिसिङले सातौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टिकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दिप प्रज्जवलन गर्ने पनि जानकारी दिए । नवौं राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता कात्तिक तीन गते सम्पन्न आयोजना हुँदै छ । 

प्रतिक्रिया दिनुहोस