नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, २० : ५१
नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदूरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।

यसैगरी दोस्रो खेलमा सुदूरपश्चिमले घरेलु टोली गण्डकी प्रदेशमाथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए ।

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलिन् । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक/एक विकेट लिए । बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई/दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिए ।

यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित गर्यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, शिला क्षेत्रीले अविजित छ रन बनाए । सुदूरपश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक/एक विकेट लिए ।

जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त गर्यो । सुदूरपश्चिमको व्याटिङमा रीतु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाइन् । यसैगरी स्नेहा महराले २७ बलमा चार चौकासहित २१ रन जोडिन् । 

प्रतिक्रिया दिनुहोस