कालीकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, ११ : ०७
कालीकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन

काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरू सम्पर्कमा नआएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

उनका अनुसार घटनाबारे आज बिहान मात्रै खबर आएको हो । प्रजिअ शर्माले भने ‘आज बिहान मात्रै जानकारी आएको हो, हामीलाई खबर हुनेबित्तिकै घटनास्थलतर्फ प्रहरी परिचालन गरिसकेका छौँ, नेटवर्क समस्याका कारण थप विवरण आएको छैन । घटनास्थलमा प्रहरी पुगेपछि मात्र थप पुष्टि हुन्छ ।’

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन् । लगातारको वर्षाका कारण बाटो अवरुद्ध हुँदा घटनास्थलमा पुग्न समस्या भएको प्रजिअ शर्माको भनाइ छ ।

घटनास्थलसम्म पुग्न करिब चार घण्टा लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस