‘प्रेमगीत–३’ले दुई सातामा कति कमायो ?

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १६ : १५
‘प्रेमगीत–३’ले दुई सातामा कति कमायो ?

काठमाडौं । सन्तोष सेनको ‘प्रेमगीत–३’को दुई साताको बक्सअफिस कलेक्शन सार्वजनिक गरिएको छ । निर्माता–निर्देशक सेनले सोसल मिडिया फेसबूकमार्फत् ‘प्रेमगीत–३’को दुई साताको बक्सअफिस कलेक्शन सार्वजनिक गरेका हुन् ।

निर्माता सेनका अनुसार फिल्मले दुई सातामा नेपालबाट ११ करोड ८१ लाख रुपैयाँ ग्रस कमाएको छ । पहिलो साता ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको फिल्मले दोस्रो साता ३ करोड ८५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

कलाकारसमेत रहेका निर्माता सेनका अनुसार नेपाली र हिन्दी दुवै संस्करणबाट फिल्मले उक्त कमाइ गरेको हो । त्यस्तै भारतमा फिल्मले दुई सातामा ५ करोड ३२ लाख भारु कमाइ गरेको छ । फिल्मले भारतमा पहिलो साता ४.४ करोड भारु र दोस्रो साता १.३२ करोड भारु कमाएको हो ।

यसका साथै ओभरसिजमा फिल्मले दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ । निर्माता सेनका अनुसार फिल्मले ओभरसिजमा पहिलो साता ६.२१ करोड भारु र दोस्रो साता २.९३ करोडको ब्यापार गरेको हो ।

जानकारी अनुसार करिब ६ करोडमा निर्माण गरिएको ‘प्रेमगीत–३’ले दुई सातामा विश्वव्यापी ३४ करोड १३ लाख नेपाली रुपैयाँ कमाइ गरेको जनाइएको छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।

एकैदिन विश्वव्यापी प्रदर्शन भएर नेपाली फिल्म उद्योगमै कीर्तिमान कायम गरेको ‘प्रेमगीत–३’ बक्सअफिसमा समेत ब्लकबस्टर सावित भइसकेको छ । निर्माता सेनले फिल्मको लाइफ टाइम कमाई ५० करोड बढी हुने आँकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस