उम्मेदवारी मनोनयनका लागि दुई दिन थप्न सकिँदैन : निर्वाचन आयोग

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, १७ : २२
उम्मेदवारी मनोनयनका लागि दुई दिन थप्न सकिँदैन :  निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ।

शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय आइतबारलाई तोकिएको छ । देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् । तर आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ ।

प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताए।

उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताए। उनले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताए।

त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह समेत गरे। उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए।

मतदानको अधिकारलाई सुरक्षित राख्‍न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताए।

प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताए।उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताए।

त्यस्तै आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गरेको हो ।

आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकिएको जानकारी दिएको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ४३ दिन बाँकी छ ।