राउटे बस्तीमा दशैंको चटारो

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १० : ३३
राउटे बस्तीमा दशैंको चटारो

दैलेख । दशैंको रौनकले राउटे बस्तीलाई छाएको छ ।  उनीहरूले दशैंको भव्य तयारीमा जुटेका छन् ।

फिरन्ते जीवन बिताउँदै आएका उनीहरू जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा १ महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिका–१ बेंसीमा पर्ने बेस्तडा बजार नजिकै जंगलमा सरेका छन् ।

लेकमा चिसो बढ्न थालेपछि बेंसी झरेको उनीहरूको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाए ।

‘दशैं आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौैं, चिसो बढ्यो, दशैं मनाएर अन्तै सर्नुपर्ला,’ उनले भने । बेस्तडा जंगलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी १४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए ।

उनले राउटे जहाँ बस्ती सरे पनि भत्ता दिँदै आएको गुराँस गाउँपालिकालाई असोज महिनाको भत्ता वितरण छिटो गर्न भनीदिनुहोस् भनेर सताउने गरेको बताए । गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ । सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

दशैं नजिकिँदै गर्दा चामल, खसीबोका, नून–तेल लगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय बेस्तडा बजार हँुदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ । राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ । महामुखिया शाही छन् भने मुखिया २ जना सूर्यनारायण र वीरबहादुर शाही छन् ।

उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्छन् । यो दशैंलाई ‘असोजे दशैं’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन् ।

दशैंका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैंको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् ।

देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउने लगायतका हिन्दू संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ मर्‍यो त्यही गाडेर बस्ती सर्छन् । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ । यिनीहरू अझक दैलेखमा बस्न धेरै रुचाउँछन् ।

प्रतिक्रिया दिनुहोस