नारायणी नदीलाई पर्यटकिय स्थल बनाउन ३ वटा मन्त्रालयले शुरु गर्यो काम

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १० : ५१
नारायणी नदीलाई पर्यटकिय स्थल बनाउन ३ वटा मन्त्रालयले शुरु गर्यो काम

चितवन । नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन ३ मन्त्रालयले काम शुरू गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा ३ वटै योजनाको काम अघि बढेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यीकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । शहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।
 
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ ९८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २।५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । १९ करोड ८६ लाख रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए ।खुट्किलाको सतह २ मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उनको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिने छ । ५ मिटरको फरकमा विरुवा लगाइने उनले जानकारी दिए ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर शंकर बुढाथोकीका अनुसार १ वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उनले भने, ‘बाढीले नबगाउने गरी आकर्षक ढंगले सिढी निर्माण गरिँदैछ ।’ यसले तटबन्धको काम गर्ने, सौन्दर्यीकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उनको भनाइ छ । यो तटबन्धका कारण नवलपरासी तर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनीयर अस्मीता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उनका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, १०० हाराहारी चारपांग्रे्रे सवारी अट्ने २ वटा पार्किङस्थल, बगैंचालगायत निर्माणका काम भइरहेको छ । ६ करोड ५० लाख रुपैयाँ बजेटमा काम भइरहेको छ ।

यस ठाउँमा बगैंचा, फूटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङ लगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेकका २९ करोड ३१ लाख रुपैयाँ खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको २ तर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरुपको ५० करोड रुपैयाँको बोलपत्र आह्वान गरेको छ ।

आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उनका अनुसार झण्डै २ करोड रुपैयाँको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उनले भने, ‘हामीले अरु मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।’ स्मार्ट सिटीको लिस्टबाट हटेको भरतपुर महानगरपालिकालाई पुनः जोडेर यसवर्ष सोही गुरुयोजना अनुसारका ५० करोड रुपैयाँको काम अघि बढेको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती ३ मन्त्रालयसँगै भरतपुर महानगरपालिकाले विभिन्न काममा बजेट विनियोजन गरेर नदी किनारमा काम गरिरहेको बताइन् । उनका अनुसार शुरूमा पदमार्ग लगायत काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजना अनुसार संघीय मन्त्रालयले सहकार्य गरेको उनको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढंगले अघि बढाइने दाहाल बताउँछिन् ।

महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भनिन्, ‘म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनाअनुसार कामले गति लिएको छ ।’

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरूपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्त्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्त्वपूर्ण मानिन्छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताए ।

उनले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताए । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उनले बताए । पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस