भारतमा प्रदीप र कृष्टिना स्टारर् ‘प्रेमगीत–३’ले पहिलो दिन कति कमायो ?

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, २० : ००
भारतमा प्रदीप र कृष्टिना स्टारर् ‘प्रेमगीत–३’ले पहिलो दिन कति कमायो ?

काठमाडौं । निर्माता–निर्देशक सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’ (हिन्दी)ले भारतमा उत्कृष्ट ओपनिङ गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार लिमिडेट शो र लो टिकट रेटका बाबजुदपनि ‘प्रेमगीत–३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (भारतीय रुपैया)को ओपनिङ गर्न सफल भएको हो ।

अभिनेता प्रदीप खड्का र कृष्टिना गुरुङ स्टारर्् ‘प्रेमगीत–३’ हिन्दीको उत्कृष्ट ओपनिङले भारतमा पनि नेपाली फिल्मप्रतिको क्रेज र निर्माण टिमको मेहेनतलाई वास्तविकतामा परिणत गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मले पहिलो दिन ९२ लाख भारुको कमाई गरेको उल्लेख गर्दै भनेका छन्, ‘दिन १ मा एक सुखद् आश्चर्य । सीमित शोहरुको बाबजुद…बिजले लो टिकट दरका कारण पनि बढवा दिएको छ । दोस्रो र तेस्रो दिनमा स्कोर गर्न आवश्यक छ, किनकि टिकट रेटहरु सामान्य मूल्यमा फर्काइएको छ । शुक्रबार ९२ लाख भारु (भारतीय रुपैया), इन्डिया विज ।’

प्रेमगीत–३ हेरेर भारतीय दर्शकहरुले नेपाली फिल्म पनि बलिउडका कुनै पनि स्टारहरुको फिल्म भन्दा कमी नभएको प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले केही समय पहिलेसम्म साउथ फिल्मलाई साथ दिएको र अब नेपाली फिल्मलाई पनि त्यतिकै साथ दिने प्रतिक्रिया दिइरहेका छन् । साथै उनीहरुको फिल्मको कथावस्तु र (रियल) लोकेशनको खुलेर तारिफ गर्न पनि पछि हटेनन् । भारतमा यो फिल्मले वर्ड अफ माउथले राम्रो साथ पाउनेछ भन्नेमा कुनै शंका छैन ।

प्रतिक्रिया दिनुहोस