गृहमन्त्री खाणद्वारा काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास

रासस

शुक्रबार, ०७ असोज २०७९, १५ : ४४
गृहमन्त्री खाणद्वारा काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमि पुजन गरेका छन ।   

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गरेका थिए । 

करिब रु दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको सो प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेलमैदान, स्वीमिङ पुललगायतका भौतिक संरचना निर्माण हुनेछन् । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अरु संरचनाहरु निर्माण हुने जनाइएको छ । 

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ । 

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने धारणा गृहमन्त्री खाणले राखे । यस प्रतिष्ठान भवनबाट प्रहरीमा दक्षता अभिवृद्धि हुने र समग्र प्रहरी सङ्गठनको क्षमता विकास र विस्तारमा सहयोग पुग्ने उनले बताए। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पच्चीस वर्ष अगाडिदेखिको परियोजनालाई मूर्तरुप दिने काम सुरु भएकामा खुसी व्यक्त गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताए। 
 

प्रतिक्रिया दिनुहोस