साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

एजेन्सी

सोमबार, ०३ असोज २०७९, १३ : ०७
साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ । 

सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ । साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा का लागि दूतावासले अनुरोध गरेको थियो । 

दूतावासको अनुरोध गरेकामध्ये ५८ जनालाई एक्जिट भीसा दिइएको हो । एक्जिट भीसा आएकाहरुले दूतावासमा आएर आफ्नो एक्जिट भीसा लिएर जान दूतावासले अनुरोध गरेको छ । 

स्थानीय कानुनअनुसार एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने हुन्छ । एक्जिट भीसा प्रोसेसिङ् निःशुल्क हुने भए पनि एक्जिट भीसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस