बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी

सफल खबर संवाददाता

बुधबार, २९ भदौ २०७९, १६ : ०९
बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुन सक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन ।

५९ औं राष्ट्रिय बाल दिवसका अवसरमा बुधबार मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिइन्।

भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उनले बताइन् ।बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कंदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको उनले बताइन्। अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पारिन् ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरुको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । बालबालिकालाई सक्षम र योग्य नागरिकका रुपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ, सहयोग र समन्वय गर्नुपर्नेमा उनको जोड छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले धेरै बालिका शिक्षकबाट नै हिंसामा परेका धेरै उजुरी आयोगमा आइरहेको उल्लेख गरिन्। अहिले २० र २१ वर्षका धेरै युवा जानेर वा नजानेर साइबर अपराधमा संलग्न हुँदा त्यसप्रति सचेत हुन उनले बालबालिकालाई अनुरोध गरिन्।

राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले मातृ मृत्युदर र पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाको मृत्युदर पहिलेभन्दा कम भए पनि अझै सुधारका लागि काम गर्न आवश्यक रहेको औँल्याइन्।

राष्ट्रिय किशोरी सञ्जालकी संयोजक ललिता पाख्रिनले सरकारका कार्यक्रम सुगम ठाउँमा पुगेको भन्दै त्यसलाई ग्रामीण क्षेत्रका बालबालिकासम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस