सम्पत्ति शुद्धिकरणका महानिर्देशक प्रेम भट्टराईलाई सरुवा गर्ने तयारी

सफल खबर संवाददाता

सोमबार, २७ भदौ २०७९, १२ : २०
सम्पत्ति शुद्धिकरणका महानिर्देशक प्रेम भट्टराईलाई सरुवा गर्ने तयारी

काठमाडौं । गैरकानुनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासवारे नेपाली प्रतिनिधिलाई समेत राखेर सिङ्गापुरमा छलफल शुरु भएको छ । हिजोदेखि सिङ्गापुरमा अन्तर्राष्ट्रिय प्रहरी सँगठन इन्टरपोल र एफएटिएफ (द फिनान्सियल एक्सन टास्क फोर्स) को राउण्ड टेबल चलेको हो ।

त्यहाँ सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन निर्माण,संशोधन र कार्यान्वयनको अवस्थाबारे छलफल भइरहेको बताइन्छ । कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक प्रेम भट्टराई र प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवाली सहभागी छन् ।

प्रहरीको तर्फबाट कसैको पनि प्रतिनिधित्व छैन । राज्यको तर्फबाट भाग लिइरहेका भट्टराईलाई आजै सरुवा गर्न लागिएको उच्च स्रोतले बताएको छ । ‘आज भट्टराईलाई विभागबाट फाल्ने हल्ला छ,’ स्रोतले भन्यो, ‘बैठकमा सहभागी महत्वपूर्ण विभागका हाकिमलाई हटाउँदा के सन्देश जान्छ ?’

नेपालले आगामी अक्टोबरसम्म सम्पत्ति शुद्धिकरणमा तोकिएको मापदण्ड पूरा नगरे अन्तर्राष्ट्रिय कारोबारबाट अलग्गिने छ । मुलुकभित्र ल्याउने र बाहिरिने सम्पत्तिको मात्रामा नियन्त्रणको सट्टा बढोत्तरी भएपछि सम्पत्ति शुद्धिकरण र वित्तीय जानकारीमा नेपालको पहलले खासै उपलब्धी प्राप्त नगरेको प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस