फुटबल हेर्न भनि घरबाट निस्किएका तीन बालिका बेपत्ता

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, १२ : ४०
फुटबल हेर्न भनि घरबाट निस्किएका तीन बालिका बेपत्ता

मोरङ । मोरङको लेटाङमा फुटबल प्रतियोगिता हेर्न भनि घरबाट निस्किएका तीन बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका- ३ का ती बालिकाहरू शनिबार दिउँसो घरपरिवारसँग फुटबल हेर्न भनेर निस्किएका थिए।

प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार लेटाङमा फुटबल खेल आयोजना नभएको अवस्थामा तीन बालिकाले परिवारलाई छल गरेर निस्किएका खुलेको छ।

शनिबार बिहान करिब ११ बजे नगरपालिका ३ की १४ वर्षीया सविना राई, १३ वर्षीया रक्षा दर्नाल, र १२ वर्षीया अनुष्का राई घरमा फुटबल हेर्न घरबाट निस्किएका थिए।प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार तीनै जना बालिका आइतबार बिहानसम्म पनि सम्पर्कमा आएका छैनन्। तीनै जना लेटाङको शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत थिए।

परिवार सदस्यले आइतबार घटनाबारे जानकारी दिएसँगै प्रहरीले खोजविन र अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार शनिबार बेलुकासम्म परिवार सदस्यले लेटाङ आसपास र आफन्त कहाँ खोजविन गरेपनि केही पत्ता नलागेपछि प्रहरीमा पुगेका हुन्।

प्रहरीसँग जानकारी ढिलो आएको बताएका प्रवक्ता श्रेष्ठले विभिन्न ठाउँमा हुलियासहित खोजी सुरु गरिएको बताए।

प्रतिक्रिया दिनुहोस