सुनसरीका जुट खेती गर्ने किसान निराश, मल नपाएकोमा चिन्तित

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १४ : ०९
सुनसरीका जुट खेती गर्ने किसान निराश, मल नपाएकोमा चिन्तित

काठमाडाैँ । अघिल्ला वर्षहरूमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन्। मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्दो छ। समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादनसमेत घट्न पुग्दा थप चिन्तामा छन्।

उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरूको रुचिसमेत सो खेतीमा घटदै गएको किसानहरूको भनाइ छ। भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढ्न गएको तर आम्दानी कम हुने गरेको उनीहरूको पीडा छ।

सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन, ‘सरकारले मल दिनै सक्दैन। दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ। अनि कसरी हुन्छ? मर्कामा पर्ने त जसरी पनि हामी किसान नै हौँ।’

खुशीलालजस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ। जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन्।

नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ।रामकृपाल भन्छन, ‘पेशा छोड्न अन्य विकल्प छैन। भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ। जसको प्रभाव उत्पादनमा कमी स्वाभाविक हो। तर पनि बाध्य छौँ। जसले खर्च धान्नै धौधौ छ।’

विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएता पनि केही किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन्। लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने जहाँकाे त्यहीँ छ।

प्रतिक्रिया दिनुहोस