चितवन । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ ।अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।
सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ ।
अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा रु ९३ करोड ५८ लाख ९५ हजार बीमा दाबी भुक्तानी लिएको छ ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरुमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले रु १३ करोड ३२ लाख ४३ हजार दाबी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार दाबी भुक्तानी लिएको थियो ।
बीमामा बिरामीको आकर्षण बढेकै कारण सङ्ख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो । पौडेलले भने, “दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो”, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ ।
बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ ।स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ ।
उनले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए।
स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् ।रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उनले भने, “सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।” बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् ।
अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए।
उनले भने, “साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उनले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ भदौ २०७९, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित