काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्व राष्ट्रपति यादव

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १५ : ०६
काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

उनले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे । उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए ।

पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।

पूर्व राष्ट्रपति यादवले भने, ‘काँग्रेसीले बिपीले उहाँको बेलामा जति महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु काँग्रसीलाई पढ्नलाई फुर्सद छैन । सोझै काँग्रेस छिर्छन् । किनकी टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस