कोरोना अपडेट : थप २३० जनामा संक्रमण पुष्टि, ७८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १६ : ४८
कोरोना अपडेट : थप २३० जनामा संक्रमण पुष्टि, ७८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९५६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २८ जना र १ हजार ८८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ५२६ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ५०५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ७८१ पुगेका छन् ।