संयुक्त राष्ट्रसंघद्वारा रूसी दूतावास आक्रमणको निन्दा

एजेन्सी

मंगलबार, २१ भदौ २०७९, १५ : ४९
संयुक्त राष्ट्रसंघद्वारा रूसी दूतावास आक्रमणको निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो । 

महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका  वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहोर्‍याउँदै जारी गरेको विज्ञप्तिमा  आत्मघाती आक्रमणको निन्दा गरिएको छ । महासचिवले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  

अज्ञात आतंककारीले आफ्नो दूतावासको कन्सुलर खण्डको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ प्रहार गर्दा दुई जना कर्मचारी मारिएका रूसी विदेश मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार दूतावासका अधिकारी अफगान सुरक्षाकर्मीहरूसँग निकट सम्पर्कमा रहेका तथा घटनाको अनुसन्धान भइरहेको छ ।

यसैबीच, पाकिस्तानले रूसी दूतावासमा भएको घातक हमलाको निन्दा गरेको छ । उक्त आक्रमणमा एक जना रूसी कूटनीतिज्ञ र अर्का एक जना अफगान नागरिकको ज्यान गएको थियो । पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी कूटनीतिक नियोगमा भएको हमला गम्भीर चिन्ताको विषय भएको बताउँदै आतङ्वादका सबै रूप र प्रकटीकरणको पाकिस्तान सरकारले निन्दा गरेको छ । 

आक्रमणमा ज्यान गुमाएकाहरूका परिवारजनप्रति सहानुभूति जनाउँदै विदेश मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै पाकिस्तानले आतङ्वाद साझा चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न ठोस प्रयास अपरिहार्य भएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस