काठमाडौं । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताए । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गरे ।
उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गरे ।
उनले भने, ‘समस्या माथि छ । सिंहदरबार अधिकार दिन चाहँदैन । सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ ।
हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ । तर, प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ । सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहेको छ ।’
प्रदेश सरकार र स्थानीय सरकारले कानून बनायो भनेपनि संघीय सरकारले कानून नबनाईकन लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानूनसँग बाझियो भने स्वतः खारेज हुन्छ । यो अवस्थामा हामी छौँ । यो किन भइरहेको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन ।’
उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे । संघीयता आउने बित्तिकै दिल्लीका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे ।
उनले भने, ‘दिल्लीको केजरीवालले जस्तो काम गर्नुपर्छ भन्ने हाम्रो मानसिकता छ तर, त्यसका लागि हामीसँग कति अधिकार छ भन्ने विश्लेषण गर्दैनौँ ।’ उनले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर, केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनु भयो ।
उनले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताए । पूर्वमुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, ११ : ४९
लेखकबाट थप