काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन् ।
गणतन्त्रको पक्षमा कांग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए ।
अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिस्टहरूले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहोर्याए । उनले भने, ‘कांग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भएतापनि त्यहाँभित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो । हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्यो ।'
अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलालाई चुनौती दिए । तर, चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बाँस्तोलाले नमिल्ने उनको भनाइ थियो ।
'धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्यो । एउटा निर्वाचन क्षेत्रमा तपाईं जित्न सक्नु हुन्न, एउटा जिल्लामा तपाईं जित्न सक्नुहुन्न भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस्,’ उनले भने ।
अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणासमेत राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १५ : ४८
लेखकबाट थप