भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ०७ : ४८
भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् ।  प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी  नेपाल आउन लागेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।  राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाह पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखद्वारा विभूषित भएका थिए ।

नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवद्र्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वालले बताए । 

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस