गोर्बाचोभ विश्वका एक दुर्लभ नेता : राष्ट्रपति बाइडेन

सफल खबर संवाददाता

बुधबार, १५ भदौ २०७९, १० : ०२
गोर्बाचोभ विश्वका एक दुर्लभ नेता : राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले तत्कालीन सोभियन युनियनका अन्तिम नेता मिखाइल गोर्बाचोभलाई एक ‘दुर्लभ नेता’ का रूपमा चित्रित गरेका छन्।गोर्बाचोभको निधनप्रति दुःख व्यक्ति गर्दै राष्ट्रपति बाइडेनले विश्वलाई सुरक्षित बनाउने एक नेताका रूपमा उनको स्मरण गरेका हुन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य जारी गरेर गोर्बाचोभले सोभियत युनियनमा प्रजातान्त्रिक सुधार गरेको उल्लेख गरिएको छ। ‘त्यसको नतिजा सुरक्षित विश्व र दशौँ लाख मानिसको बिस्तारित स्वतन्त्रता बन्यो’, बाइडेनले जारी गरेको व्यक्तिमा उल्लेख छ।

गोर्बाचोभ महत्त्वपूर्ण दृष्टिकोणयुक्त व्यक्ति रहेको बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ। शीतयुद्धको करिब ४० वर्ष तथा गम्भीर नतिजासहितको कम्युनिष्ट शासनको झन लामो समय भएको अवस्थामा उनी सत्तामा आएको र त्यसको सुधारका लागि काम गरेको ह्वाइटहाउसको वक्तव्यमा उल्लेख छ।

‘सन् २००९ जब उहाँ ह्वाइट हाउस आउनु भएको थियो, हामीले लामो समय कुरा गरेका थियौँ’, बाइडेनले वक्तव्यमा भनेका छन्, ‘अमेरिका र रुसबीचको परमाणु भण्डार कम गर्ने सम्बन्धमा हाम्रो कुरा भएको थियो।’

‘हामी यो दुःखको समयमा उहाँको परिवार, साथी तथा उहाँको राम्रो विश्वप्रतिको विश्वासका कारण लाभान्वित जनमानसप्रति गहिरो समवेदना प्रकट गर्दैछौँ’, वक्तव्यमा भनिएको छ। गोर्बाचोभको मंगलबार मस्कोस्थित अस्पतालमा उपचारको क्रममा ९१ वर्षको उमेरमा निधन भएको हो।