राधाको प्रदर्शनी रोकियो

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, १९ : ४०
राधाको प्रदर्शनी रोकियो

काठमाडौं । गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ ।मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेका हुन । चलचित्रलाई सिनेमा हलहरुले शोमा अन्याय गरेको उनिहरुले आरोप लगाए ।

शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शो भन्दा माथि पाउने आश गरेपनि अपेक्षाकृत रुपमा हलहरुले शो नदिएको आरोप छ । नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरुले प्रदर्शनको समय नदिएको गुनासो गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताए । उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरु आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताए । आफूसँगै प्रतिष्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको बताए ।

त्यस्तै अभिनेता सौगात मल्लले हलहरुले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताए। अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताइन् । उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताइन् ।

सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टी बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ । फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रश्तुति र मन प्रोडक्शनको एशोसिएशनमा निर्माण भएको हो ।

फिल्म बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस