तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए !

सफल खबर संवाददाता

सोमबार, १३ भदौ २०७९, ०९ : ०४
तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए !

‘हाम फालेर मरौं कि त्रिशुलीको पानीमा’
घरमा बसु सौता त माइत सानीमा’
‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’
‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’

गायिका शर्मिला गुरुङले गाएको यो गीतले महिलाको बेदना बोलेको छ । संगीतकार राजकुमार बगरले संकलन गरेको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै संकलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् ।  

पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसंगति रोक्न चासो देखाएका छन् । हिन्दू नारीहरूको मुख्य पर्वका रूपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ । 

घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तीजका गीतले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरू बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् । यस्ता गीतप्रति आमनागरिक, कलाकार तथा स्रटाहरुले अश्लिलपना हटाउन र मौलिकपन भरिएका शब्दमा गीत रचना हुनुपर्ने धारणा बाहिएका छन् । 

काठमाडौंको अनामनगरकी ६० वर्षीया हरिकला अधिकारलाई आजकाल बजारमा आएका तीज गीत कति पनि मन पर्दैन । गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका तीज गीत भएका कारण उहाँलाई सुन्न मन नलागेको हो ।

उनले भनिन्, ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तीजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो तर अहिले सुन्न पनि नसक्ने खालका तीज गीत बजारमा आएका छन्, सुन्न पनि नसकिने असभ्य लाग्ने खालका छन् ।’ हरिकलाले भनेजस्तै अहिले बजारमा कतपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आएका छन् । एक महिनाअघि बजारमा ल्याइएको ‘पापाकी परी’ नामको गीत श्रृङ्खल शब्द र दृश्य राखिएको जनाउँदै विवादमा तानिएको थियो ।

गायक तथा संगीतकार शिव हमालले सिर्जना गरेको गीतमा ‘मोडल’ करिष्मा ढकालले पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै नाच्दै गरेको भिडियो देख्न सकिन्छ । गीतमा ‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी, सम्झेर गइसक्यो सातो बरिलै’ भन्ने शब्द राखिएको छ । गायिका सुशीला पाठकले गाएको यो तीज गीत मात्रै होइन उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियो पनि उस्तै खालका हेरिनसक्नु छन्, ती म्युजिक भिडियो बजारमा प्रशस्तै भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस