नेपालले केन्यालाई ४ विकेटले हरायो

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १९ : २६
नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हरायो ।

केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।

यस्तै, डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । आरिफ शेख ४ रनमा अविजित रहदा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए । इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहदै ७३ रन बनाउँदा करिम ५५ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यस अघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी खेल भोलि हुनेछ । यस्तै पाँचौ तथा अन्तिम टी–ट्वान्टी मंगलबार हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस