भूमिगत पार्किङ मिच्नेविरुद्धको कारबाही प्रक्रिया सबै ठाउँमा चल्ने : मेयर बालेन

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : ५४
भूमिगत पार्किङ मिच्नेविरुद्धको कारबाही प्रक्रिया सबै ठाउँमा चल्ने : मेयर बालेन

काठमाडौँ  । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले भूमिगत पार्किङ मिच्नेविरुद्धको कारबाही प्रक्रिया सबै ठाउँमा चल्ने बताएका छन्। व्यापारिक प्रयोजनका भवनको नक्सापास गर्दा भूमिगत पार्किङ राखेर हाल सटर निर्माण गरी भाडामा लगाउँदै आएको देखिएपछि काठमाडौं महानगरपालिकाले सोमबार नयाँ बानेश्वर क्षेत्रमा कारबाही चलाएको थियो। महानगरपालिकाले सोमबार नयाँ बानेश्वरस्थित व्यावसायिक कम्प्लेक्सको भूमिगत पार्किङमा बनाइएका संरचना भत्काएको थियो। 

व्यवसायिक भवनका लागि जमिनको २० प्रतिशत र शैक्षिक संस्थाका लागि १५ प्रतिशत जमिन पार्किङका लागि  छुट्याउनुपर्ने मापदण्ड रहेको र महानगरपालिकाले त्यसको कडाइका साथ कार्यान्वयन गराउने मेयर शाहको भनाइ छ। 

‘३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आफैँ सुधारको संकेत नदेखिएपछि हामीले बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं। यो सहरका सबै ठाउँमा पुग्नेछ,’ मेयर शाह भन्छन्, ‘कारबाहीमा भन्दा पनि तपाईँको महानगरप्रतिको जिम्मेवारीमा हाम्रो विश्वाश छ। त्यसैले पार्किङ्का लागि छुट्याइएको ठाउँमा पार्किङ नै गरिदिनुहोला। यसबाट हामीलाई पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ। सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ। त्यस्तै हामीलाई पार्किङ व्यवस्थापन योजना बनाउन सहयोग पुग्नेछ।’

बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न महानगरले प्रकाशन गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि भदौ ६ गते बानेश्वर क्षेत्रबाट कारवाही सुरु गरेको हो। भवन मापदण्ड २०६४ अनुसार व्यवसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थियटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ् होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय) का लागि जमिनको २० प्रतिशत भागमा पार्किङको व्यवस्था हुनुपर्छ। स्कूल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नु पर्छ। नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हो। सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यका अनुसार मापदण्ड सम्बन्धित व्यक्ति र निकाय आफैँले पालना गर्नु पर्ने हो। तर, पालना नभएको पाइएपछि कारबाही थालिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस