राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकसम्बन्धी टिप्पणी : कर्ण

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : ५१
राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकसम्बन्धी टिप्पणी : कर्ण

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकसम्बन्धी टिप्पणी राम्रो निबन्ध भएको बताएका छन्। प्रतिनिधि सभामा पुनर्विचारका लागि पेस भएको विधेयकको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले गरेको टिप्पणी नागरिकता विधेयकसँग कुनै साइनो नै नभएको दाबी गरे। 

उनले विगतमा अध्यादेश ल्याएर एमालेले नागरिकता विषयमा स्वीकार गरेको कुरा भएकाले अहिले थप केही पनि कुरा नभएको जिकिर गरे।उनले संसद्‌मा यसअघि पेस भएको विधेयकमा असहमति रहेकाले त्यसलाई थाती राखेर संविधानमा भएको व्यवस्था अनुसार आएको दावी गरे।

‘सात लाख नागरिक नागरिकताको अभावमा पढ्न पाएको छैनन्। जग्गा जमिन जोड्न पाएका छैनन्। विदेश जान पाएको छैनन्। रोजगारी  गर्न पाएको छैनन्,’ उनले भने, ‘अझै हामी राष्ट्रिय सहमति गरौं भनिरहेका छौं। के मा राष्ट्रिय सहमति गर्ने?’सात लाख मानिस रोइ कराई रहेको कुरा सुनेर नै सरकारले नागरिकता विधेयक ल्याएको उनको भनाइ छ। 

‘अझै पनि हामी संवेदनशील नभए कहिले हुने?,’ उनले भने, ‘राष्ट्रपतिले पठाएको ८ बुँदा राम्रो निबन्ध जस्तो छ। त्यसमा संविधानमै समस्या रहेको कुरा लेख्न छुटेको छ।’

त्यसमा एक लाइन संविधानमा महिला, लैङ्गिक मैत्री र अन्य कुरा पुगेन भन्दिएको भए आफूहरु उफ्रिएर सर्मथन गर्ने तर त्यसो हुन नसक्ने उनले बताए। ‘संविधानमा लेखेको कुरा विधेयकबाट संशोधन हुन्छ?’ उनले प्रश्न पनि गरे। 

प्रतिक्रिया दिनुहोस