पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, २० : ०२
पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताए । उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए ।

डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए । उनले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए ।

उनले भने, ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एकजना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एकजना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ ।’

उनले थपे, ‘तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाइसकेपछि प्रदेश कमिटीले तीन जना नै कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु, सहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउँछ र केन्द्रीय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति पनि निर्धारण पनि गर्छ र आगामी निर्वाचनको निम्ति पनि उम्मेदवार तय गर्छ । यो काम सम्पन्न भएको छ । केन्द्रीय कमिटीका केही सदस्यहरुको कार्य विभाजनमा हेरफेर भएको छ । वामहरुको बीचमा एकताको पहल हामीले गर्ने र त्यो एकताको पहलको शुरुवात हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुनेछ ।’

उनले फेरि भने, ‘त्यसरी दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउनको निमित्त हाम्रो तर्फबाट एकता संयोजन समिति बनाएर अर्को पार्टीबाट पनि त्यस्तै समिति बनाएर दुवै पार्टीबाट त्यस्तै किसिमको संयन्त्र बनाउने भन्ने हो । हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौँ । त्यसका धेरै चरणहरु हुन्छन् र विभिन्न चरणमा काम गर्दै जाने र आगामी चुनावको बारेमा कुरा भएको छ । समितिमा पार्टीका शीर्ष नेताहरु नै बस्ने गरेर समिति बनाउन हामीले सुझाव दिएका छौँ । चुनावमा हामी सँगै गइहाल्छौँ । हामी पार्टी एकता संयोजन समिति बनाउने भन्ने निर्णयमा पुग्यौँ ।’

उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए । उनले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरु सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताए ।

उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस