कांग्रेसका जनप्रतिनिधिलाई शेखर कोइराला समूहको चियापान

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १३ : ५९
कांग्रेसका जनप्रतिनिधिलाई शेखर कोइराला समूहको चियापान

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई चियापान कार्यक्रम गरेर स्वागत गरेको छ ।दुई दिन अभिमुखीकरण तालिमका लागि आएका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई काठमाडौंको एक होटलमा बोलाएर चियापान गराइएको हो ।

कार्यक्रममा अभिमुखीकरण तथा प्रशिक्षणमा सहभागि हुन आएका जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता सहभागी छन् । प्रशिक्षणले आफूहरूलाई नीतिगत, कानुनी र सुशासनका विषयमा ज्ञान हासिल गरेको जनप्रतिनिधिले बताएका छन् ।डोटीको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले कानुनी पाटोदेखि बजेट र राजश्व बाँडफाँडका विषयमा धेरै कुरा सिकेको र त्यसलाई व्यवहारमा लागू गर्ने बताए ।

'कानुन बनाउनुपर्ने कुराहरु छन् । विकासका प्रोसेसका कुराहरु छन् । न्यायिक समितिका कुराहरु छन् । विविध कुराहरु प्रशिक्षणमा सिकेका कुराहरुलाई अब गएर गाउँपालिकाको, कार्यसमितिको मिटिङ, वडाको भेलाहरुमा आफूले सिकेका कुराहरुलाई हुबहु तरिकाले हामीले सिकाउने मनस्थिति भएको छ' उनले भने ।

डोटी जिल्लाकै केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले पनि सुशासनकै पाटोमा जोड दिने बताए । जनतालाई मालिक मानेर सेवाको भावनाले काम गर्न प्रशिक्षणले ठूलो भूमिका खेलेको उनको भनाई छ ।

'हिजोका दिनमा भएका कमी कमजोरी हटाउन जनताले फेरि मौका दिएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले समयमै जनप्रतिनिधिलाई प्रशिक्षित बनाएको छ । अवश्य पनि नेपाली कांग्रेसले नेपाली जनताका निम्ति भोलिका दिनहरुमा काम गर्ने कुराहरु बनेको छ । हामी ऊर्जाशील र उर्जावान बनेका छौँ । हिजोको दिनमा भएका कमी कमजोरी हटाएको छ ।' उनले भने ।

कार्यक्रममा नेता शेखर कोइराला, डा. रामशरण महत, चन्द्र भण्डारीलगायत पुगेका थिए । कांग्रेसले ३० र ३१ साउनमा ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस