४ हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्बले घट्यो

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १० : ५५
४ हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्बले घट्यो

काठमाडौं । साउन यता लागेयता वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब रुपैयाँको ओरालो लागेको छ । गत असार महिनाको ३२ गतेदेखि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउन २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक खर्ब २० अर्ब रुपैयाँले घटेको हो ।

नेपाल बैंकस एसोसिएसन (एनबीए) तथ्याङ अनुसार गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा सिमित बनेको छ ।

असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँ, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको संघको तथ्यांकमा उल्लेख छ ।

साउनको दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले साउनको चौथो सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यस्तै, एक सातामा यस्तो लगानी ९ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेप बाहिरिने क्रम बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि बढ्न थालेको छ। गत साउन २० गतेसम्म सीडी रेसियो ८७.६९ प्रतिशत रहेकोमा साउन २७ गतेसम्म बढेर ८८.३५ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस