राजीनामा स्वीकृत र नेतृत्व हस्तान्तरणबाट राहत मिल्यो : रवीन्द्र मिश्र

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १५ : ३१
राजीनामा स्वीकृत र नेतृत्व हस्तान्तरणबाट राहत मिल्यो : रवीन्द्र मिश्र

 काठमाडौं ।  विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् । उनले स्थानीय निर्वाचनमा राम्रो नतिजा नआएकै कारण राजीनामा दिएको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

‘स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन। तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ। वास्तविकता यही हो। हल्ला धेरै किसिमको चलाइयो,’ मिश्रले फेसबुकमा लेखेका छन्, ‘अन्तत्वगत्वा अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हस्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ।’

नयाँ नेतृत्वलाई शुभकामना दिँदै उनले भनेका छन्, ‘साथीहरू, विचलित नहुनु होला। भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको छ, जुन स्वाभाविक हो। यो यात्रा सहज थिएन। सहज हुनेवाला छैन।’

आउँदा दिनहरूमा पार्टीभित्र र बाहिर आफ्नो दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्ने मिश्रले बताएका छन् । उनले लेखेका छन्, ‘विश्वास दिलाउन प्रयास गर्नेछु। सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’

 

प्रतिक्रिया दिनुहोस