जनैपूर्णिमा र गाईजात्रा एकैदिन

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ०९ : ४४
जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ। यता भक्तपुर र ठिमी नगरपालिकाले भने आज जनैपुर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिइसकेको छ।

मुख्यतस् काठमाडौँ उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशस् बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रबार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ।बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ। सोसँगै ९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो।

प्रतिक्रिया दिनुहोस