सांसदको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घट्दैन

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : ४२
सांसदको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घट्दैन

काठमाडाैं  ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सांसदहरूले बाढी, पहिरो पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।बुधवार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै एमालेका सांसदद्वय शारदादेवी भट्ट र विमला घिमिरेले बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका छन् ।बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढी, पहिरोबाट बढी प्रभावित भए पनि उनीहरूलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले वर्षाले प्रभावित जनताको क्षतिपूर्तिको उचित व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।

सांसद भट्टले भनिन्, ‘देशभर भइरहेका अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको समाचार आइरहेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा वर्षाका कारण बाढी पहिरो आउँदा जनताले धेरै क्षति व्यहोर्नुपरेको छ । त्यसमा पनि विशेष कैलाली र कञ्चनपुरका जनता यसबाट ज्यादा प्रभावित भएका छन् । जसका कारण त्यहाँका जनताको दैनिकी कष्टकर भइरहेको छ । गाँस–बासको समस्या भइरहेको छ । वर्षाले प्रभावित जनताको धनजनको क्षतिको न्यूनीकरण, रोकथाम र बाढी पीडितको उचित व्यवस्थापन र क्षतिपूर्तिमा सरकारले यथाशीघ्र ध्यान दिन सम्माननीय अध्यक्षज्यूमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमालेकी अर्की सांसद विमला घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् । उनले किसानलाई खेतीबालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नबालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत गरिन् ।

सांसद घिमिरेले भनिन्, ‘गत वर्ष किसानहरूले स्याहार्ने बेलाका धानवाली वर्षाले नष्ट भयो । त्यतिबेला सरकारले क्षतिपूर्ति दिने भन्दै स्थानीय तहमार्फत् त्यसको रेकर्ड माग्ने र बैंक खाता खोल्नेसम्मका कुराहरू सरकारले गर्न लगायो तर सरकारले यसको क्षतिपूर्ति त कुरै छोडौं । यो वर्ष धान रोप्नका निम्ति मल समेत दिन सकेन । कि यो सरकारले के काम गरिरहेको छ ? यो सरकार जनताको दुःखमा कुनै लेखाजोखा राख्न सक्छ कि सक्दैन ? यो जनताले थाहा पाउनै छोडिसके । अहिले भर्खरै नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने कुरामा हप्ता पनि बाँकी नराखी मूल्यवृद्धि गर्‍यो तर अहिले भारतमा मूल्य घट्दाखेरी फेरि त्यसको समायोजन गर्ने कुरामा कुनै चासो दिएको छैन ।’

सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस