सिन्जाे आबे भेटेकाे भनी प्रचण्डले हलुका प्रस्तुति दिनुभयाे : खिमलाल भट्टराई

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, १५ : ०९
सिन्जाे आबे भेटेकाे भनी प्रचण्डले हलुका प्रस्तुति दिनुभयाे : खिमलाल भट्टराई

काठमाडाैं  । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गरेका छन्।

नेपालमा एक पटक पनि नआएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुर्‍याएकाे बताएका हुन्।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारूढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाए।

उनले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे।

नेता भट्टराईले भने, ‘गठबन्धन भित्रका एक जना सिनियर नेताले भारतको भ्रमण गर्नु भयो। उहाँले जापानको भ्रमण गर्नु भएको छ। तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ? र, यसकाले हाम्रो देशको उचाइलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ? पुष्पकमल दाहाल प्रचण्ड केही समय अगाडि भारत भ्रमण गर्नु भयो। उहाँको तयारीको विषयलाई मात्रै हेर्ने हो भने यहाँ सिनियर नेताहरूले सामाजिक सञ्जालमा लेख्नुभयो भारतीय प्रधानमन्त्रीसँग भेटेर राष्ट्रियताको बारेमा कुरा हुन्छ, देशको हितको कुरा हुन्छ भनियो, लेखियो। तर पछि भेटघाटै भएन। त्यत्रो सिनियर नेता पूर्वप्रधानमन्त्री यत्तिकै लुत्रुक्क फर्केको देखियो। यसले हाम्रो देशको यो परिवर्तनलाई देशको राजनीतिलाई कस्तो बनाउँछ? अनि जापान भ्रमण जानु भयो। जापान भ्रमणमा जाँदाखेरी उहाँले सिन्जु आबे नेपाल आएको बेलामा दुईदुई पटक उहाँसँग कुरा भएको छ भनी गौरवको साथ भन्नु भयो। जबकि सिन्जु आबे नेपाल आउनु भएकै थिएन। यस्तो खालको यो हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो? यस्तो हल्का प्रस्तुति, यस्तो हल्का टिप्पणीले देश चल्छ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो?।’

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। दैनिक उपभोग्य खाद्यान्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उनले आक्रोशसमेत व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस