राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदूपयोग गर्नुपर्छ : अध्यक्ष ओली

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : २०
राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदूपयोग गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदूपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीब्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

सामूदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे । सामूदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

उनले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍याे । र, त्यसको सदूपयोग पनि हुनुप¥यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनु पर्दछ । हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ ।’

उनले थपे, ‘तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ । सामूदायिक वनमार्फत् राज्यलाई पु¥याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिंगो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदूपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राखे । उनले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

प्रतिक्रिया दिनुहोस