निर्वाचनमा एमाले एक्लै होमिन्छः पूर्वमन्त्री ढकाल

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : १८
निर्वाचनमा एमाले एक्लै होमिन्छः पूर्वमन्त्री ढकाल

मोरङ। नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले निर्वाचनमा नेकपा एमाले एक्लै उत्रने बताएका छन्। मंगलबार प्रेस चौतरी भोजपुरद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा पूर्वस्वास्थ्य मन्त्री ढकालले प्रष्ट बहुमत ल्याउने गरी एमाले आउँदो निर्वाचनमा एक्लै होमिने बताएका हुन्।

मुलुकले वर्तमान अवस्थामा दुःख पाए पनि मंसिर ४ गतेको निर्वाचनपछि नयाँ निकास पाउने उनको भनाइ थियो। वर्तमान सरकार अनियमितता, भ्रष्टाचार, जालझेलमा व्यस्त रहेको बताउँदै उनले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउन सरकार उद्यत रहेको बताए।

नेता ढकालले बढ्दो महँगी, भ्रष्टाचार, राष्ट्रघाती कदमको विरोध गर्दै एमाले सुदृढीकरणमा लागेको जिकिर गरे। सर्वोच्चका प्रधानन्यायाधीशउपरको महाअभियोगको विषय टुंगोमा पुर्‍याउनभन्दा पनि चोलेन्द्र शमशेर जबरामाथि लाठी देखाएर अन्य न्यायाधीशलाई तर्साउन खोजिएको बताए।

उनले महाअभियोग पास गर्न र अदालत सुदृढीकरणका लागि नल्याइएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस