रेखा शर्माको माग : पितृसत्तात्मक सोचाइ हटाउन बाध्यात्मक कानुनी व्यवस्था गरियोस्

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १५ : ३१
रेखा शर्माको माग : पितृसत्तात्मक सोचाइ हटाउन बाध्यात्मक कानुनी व्यवस्था गरियोस्

काठमाडौं  । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले यस्तो बताएकी हुन् ।

उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाइन् ।

उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०/५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी रहेको बताइन् । उनले कानूनी व्यवस्था बाध्यकारी भएन भने सम्भव नहुने कुरा स्पष्ट भइसकेको भन्दै यसलाई प्रभावकारी रुपमा बाध्यकारी कानूनी व्यवस्था ल्याएर महिला प्रतिनिधिको समान उम्मेदवारी गराउन जरुरी रहेको बताइन् ।'उम्मेदवारी दिने सवालमा पनि त्यस्तो व्यवस्था रहेको हुनाले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्था छ । यसको लागि प्रत्यक्ष निर्वाचनतर्फ संघ र प्रदेशमा ५०/५० प्रतिशत महिला उम्मेदवारी दिन जरुरी छ । त्यो कानूनी व्यवस्था बाध्यकारी भएन भने सम्भव नहुने कुरा पनि देखिसकेका छौँ’ उनले भनिन् ।

उनले पितृसत्तात्मक सोचाइ हटाउनको निम्ति बाध्यात्मक कानूनी व्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया दिनुहोस