खोटाङमा एक जना मृत फेला

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, २० : १८
खोटाङमा एक जना मृत फेला

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन्। ३२ वर्षीय दर्नाल आइतबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मतानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बिहान झिसमिसमा मतान पछाडिको बाटो हुँदै बाँदर धपाउन जाँदै गरेका छिमेकी चनबहादुर तामाङले दर्नाललाई झुण्डिएको अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए।

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएको प्रहरीले घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दर्नाल शनिबार बजार गएर बेलुका घर फर्किएका थिए। उनका श्रीमती, तीन छोरा र दुई छोरी छन्। श्रीमती र छोराछोरी उठ्नु अगावै उनलाई छिमेकीले मृत फेला पारेका हुन्।

प्रतिक्रिया दिनुहोस