नेपाललाई प्लाष्टिक प्रदुषणमुक्त बनाउन प्रतिबद्ध छु : वातावरणमन्त्री यादव

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १७ : ३६
नेपाललाई प्लाष्टिक प्रदुषणमुक्त बनाउन प्रतिबद्ध छु : वातावरणमन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताए । ‘प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,’ उनले भने ।

मन्त्री नियुक्त भएपछि छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाइको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराए । यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

त्यसैगरी उनले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, बिक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए । प्रतिबन्धले प्रदूषण न्यूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौ १ गतेदेखि प्लाष्टिक प्रदूषण मुक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस